विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

काठमाण्डू, आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुवईमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।

अमेरिकाले नेपालमाथि ४ विकेटको जीत निकाल्दै लगातार दोस्रो जीत आत्मसात् गर्‍यो। नेपालको यो जारी सिरिजमा लगातार तेस्रो हार हो।

लगातारको हारसँगै नेपालमाथि झनै दबाब बढेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी हुँदा आफ्ना सम्पूर्ण विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो।

जवाफमा अमेरिकाले २ सय ७२ रनको लक्ष्य ६ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका लागि साइतेजा मुकमल्लाले ७५ रन बनाउँदा मिलन्ड कुमारले ७० रन बनाएका थिए।

त्यस्तै शायन जहांगरले ३६ रन बनाउँदा स्मित पटेलले १६ रन बनाए। उसका लागि पछिल्लो क्रममा आएका शुभंम रनजनीले १९ रन बनाउँदा सन्जय कृष्णमुर्तीले १५ रनको अविजित इनिङ खेले।

उनलाई हर्मित सिंहले १३ रनमा अविजित साथ दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ७५ रन बनाउनु सर्वाधिक रह्यो।

उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन बनाउँदा समान २ चौका र २ छक्का प्रहार गरे।

उनीबाहेक भीम सार्कीले ४३ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित पौडेलले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा करण केसीले ४९ रन बनाए।

अमेरिकाका लागि हर्मित सिंहले ३ विकेट लिंदा शौरव नेत्रभास्कर र नोस्थुस केन्जीङ्गले २–२ विकेट लिए।

त्यस्तै जसदीप सिंह र शुभंम रञ्जनीले १–१ विकेट लिए। शीर्ष क्रममा सार्की र भुर्तेलबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।

त्यस्तै पाँचौ विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ८९ रनको साझेदारी गरेका थिए।

प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित भएकाले आजको खेलमा जीत निकाल्नुपर्ने चुनौती रहेको थियो ।

नेपालले अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनको हार बेहोर्दा दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।

८ टोलीको सहभागिता रहेको लिग टु को अंक तालिकाको अमेरिका शीर्ष स्थानमा रहँदा नेपाल सातौं र युएई पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *