काठमाण्डू, आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि शुरु हुनेछ ।
जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।
अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।
लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।
