माटोमै खेलेर मासिक तीन लाख आम्दानी गर्छन् गुल्मी रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली

रेसुङ्गा, कृषि कर्मबाटै मासिक तीन लाख रुपियाँ कमाउन सकिन्छ भन्ने उदाहरण गुल्मी, रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली बनेका छन् ।

उनले माटोमै खेलेर मासिक तीन लाख रुपियाँ आम्दनी गर्छन् ।

एक दशकदेखि कृषि कर्ममा लाग्नुभएका नेपालीले आरएनपी एग्रो फार्ममार्फत तरकारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

उनले १४० रोपनी जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा २६ वटा प्लास्टिकका टहरा (टनेल) मा विभिन्न किसिमका तरकारी उत्पादन गर्नुका साथै धानखेती तथा माछापालन गर्दै आएका छन् ।

५० रोपनी जग्गामा हाइब्रिड र जिटेन जातको धान खेती गरेका छन् । तीन वटा पोखरीमा पालिएका माछामा करिब छ हजार भुरामध्ये अहिले ग्रेडिङ गरेर ७० किलो बिक्री भइसकेको छ ।

उनको फार्ममा स्थानीय जातका १२० वटा कुखुरा छन् । तीन माउमार्फत बङ्गुरपालनलाई पनि उनले अगाडि बढाइरहेका छन् ।

मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा पनि उनले जोड दिइरहेका छन् ।

नेपालीले गोपी, खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, टमाटर, सिमी, बोडी गरेर दैनिक तीन क्विन्टल तरकारी बिक्री भइरहेको बताए ।

मौसम अनुसार स्ट्रबेरी र सयपत्री फूलमार्फत पनि राम्रो आम्दानी गरिरहेका छन् ।

गत वर्ष प्रतिकेजी छ सय रुपियाँमा दुई क्विन्टल स्ट्रबेरी बिक्री गरेका नेपालीले अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना बनाएका छन् ।

उनले बिक्री नभएको तरकारी र सफाइ गर्दा आउने तरकारीका पात बङ्गुर र माछाका लागि प्रयोग गरेका छन् ।

सात सय रुपियाँ किलोमा माछा बिक्री गर्दै आएका छन् । वर्षमा दुई पटक ब्याउने भएकाले बङ्गुरका पाठा बिक्रीबाट डेढ लाख आम्दानी हुने गरेको छ ।

गतवर्ष स्थानीय बजारका साथै तम्घास, बुटवल र काठमाडौँसम्म गरी १२० मुरी धान बिक्री गरेर करिब एक लाख २० हजार रुपियाँ आम्दानी गरेको उनले बताए ।

फार्ममा नेपालीका श्रीमती, छोरासहित अन्य तीन जना श्रमिकले काम गर्छन् ।

तरकारी र अन्नबाली मौसम अनुसार अन्य धेरै जनाले काम पाइरहेका छन् । काष्ठकलामा समेत अब्बल नेपालीलाई परदेश मोह जागेन ।

उनले भने, “किसानका आफ्नै पीडा र व्यथा छन् । नेपाली माटोमा पसिना बगाएर अहिलेसम्म मासिक तीन लाख कमाइ भइरहेको छ ।”

नेपालीले कृषि ज्ञान केन्द्र्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र रेसुङ्गा नगरपालिकाबाट विभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको बताए ।

व्यावसायिक तरकारी खेती गर्नुअघि प्रेम नेपालीले दूध बेच्थे । २०७२ तिरको कुरो हो, उहाँले रेसुङ्गा नगरपालिका–६, सिमाहघाटमा १८ रोपनी जग्गा भाडामा लिएर गाईभैँसी पालन र आलु खेती थाले ।

त्यतिबेला तीन वटा भैँसी र दुई वटा गाईबाट दैनिक ३० लिटर दूध उत्पादन हुन्थ्यो ।

नजिकका सहकारीमा दूध बिक्रीको प्रस्ताव गर्दा नलिने कुरा गरेपछि नेपाली आफैँले दूध बोकेर तम्घास बजार पु¥याउन थाले ।

तम्घासमा चार वर्ष दूध बेचेपछि चिनजान र जात खुल्दै गयो अनि धेरैले विभिन्न बहाना बनाएर दूध किन्न छोडे ।

उनले भने, “सहकारीले जात हेरेर दुध राख्न मानेन । बजारमा पनि बिस्तारै समस्या देखिएपछि मन भाँचिएर दुध छोडेर तरकारीतिर काम गर्न थालेँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *