काभ्रेपलाञ्चोक, बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।
शुक्रबार बिहान देखि राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए ।
लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
माम्तीको तल्लो भेगमा गतआसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेको छ ।
बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकोले सुरक्षित यात्राको लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।
सवारी रोकीदा पूर्व जाने र पूर्वबाट काठमाण्डौ आउने यात्री मार्कामा परेका छन ।
