उपचारका लागि देउवा दम्पती गए सिंगापुर

काठमाण्डू, जेनजी आन्दोलनमा कुटपिटबाट सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि सोमबार राति सिंगापुर जाँदै छन्।

राति ११ बजेको उडानका लागि देउवा दम्पती समयमै विमानस्थल पुगेका थिए। ‘उहाँहरुले कुनै भिआइपी सुविधा लिनुभएन,’ विमानस्थलका एक सुरक्षा अधिकारीले भने।

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणा सर्वसाधारण हिँड्ने बाटो प्रयोग गरेर विमानस्थलको यात्रु कक्षमा पुगेका थिए।

सरकारले पासपोर्ट रोक्का नगरे पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी अधिकारीलाई देउवा उपचारका लागि सिंगापुर जानेबारे जानकारी दिएका थिए।

प्रधानमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर जान अनुमति दिएका हुन्।

विमानस्थलमा देउवा दम्पतीलाई बिदाइ गर्न कांग्रेस कार्यबाहक सभापति खड्का र देउवाका केही सहयोगीहरू पुगेका थिए।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा एकै दिन १९ जना युवाको मृत्यु भएपछि भोलिपल्ट भड्केको हिंसात्मक आन्दोलनमा देउवा दम्पतीमाथि निवासमै सांघातिक आक्रमण भएको थियो।

देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। आरजुमाथि पनि निर्घात कुटपिट भएको थियो।

बुढानिलकण्ठस्थित निवासबाट उद्धार गरेर उनीहरुलाई सैनिक अस्पतालमा लगेर उपचार गरिएको थियो।

झण्डै तीन हप्ता अस्पताल बसेपछि उनीहरु अस्थायी आवासमा फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *