काठमाण्डू, नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आइतबार राजधानीबाट पक्राउ गरेको पुष्टि गरेको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘पूर्वसभामुख कृष्णबहादुर महरालाई भन्सार ऐन, २०६४ र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको छ ।’
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरालाई सोही प्रकरणमा बयानका लागि बोलाएर सोधपुछ गरेको थियो ।
सोही बयानपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
२०७९ पुस १० गते फ्लाइ दुबई एयरलाइन्सको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिकले दुईवटा सुटकेसमा ७३ वटा बट्टामा ७ सय ३० थान इलेक्ट्रोनिक सिगरेट ९भेप० ल्याएका थिए ।
ती भेपको प्रत्येक बट्टाभित्र सुन लुकाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।
उक्त सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदाममा राखिएको थियो ।
सो सुन ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपियाँ बराबरको रहेको प्रहरीले दाबी गरेको छ ।
सीआईबीका अनुसार भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा रेवन्त खड्कालगायत केही कर्मचारीको जिम्मामा रहेका ती सामान पछि बेचबिखन गरी आपराधिक लाभ लिइएको प्रमाण फेला परेको छ ।
प्रहरी अनुसन्धानका क्रममा महरा र उक्त सुन तस्करीमा संलग्न व्यक्तिहरूबीच निरन्तर सम्पर्क, कल डिटेल र भेटघाट भएको प्रमाण फेला परेको बताइन्छ । त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।
प्रहरीका अनुसार महराले भन्सार कार्यालय र गोदाममा राखिएका सामान ‘सामान्य इलेक्ट्रोनिक भेप हुन्, छोड्न मिल्छ’ भन्ने दबाब दिएको भन्ने प्रारम्भिक बयान अन्य आरोपितहरूले दिएका छन् ।
सोही प्रकरणमा यसअघि महराका छोरा राहुल महरासमेतको नाम चर्चामा आएको थियो ।
सीआईबीले गत वर्ष राहुलसहित तीन जनाविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरेको थियो ।
तर, त्यसबेला राजनीतिक दबाबका कारण प्रत्यक्ष मुद्दा दायर हुन सकेको थिएन ।
पछिल्लो समय नयाँ तथ्य उजागर भएपछि महरा स्वयम् अनुसन्धानको घेरामा तानिएका हुन् ।
यस प्रकरणमा रेवन्त खड्का, नायब सुब्बा, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, चिनियाँ नागरिक वाङ दाओजिन सामान ल्याउने मुख्य व्यक्ति, स्थानीय दलालहरू, जसले भेपभित्र लुकाइएको सुन बेच्न सहयोग गरेको आरोप लागेको छ ।
कृष्णबहादुर महरा र उनका निकट व्यक्ति, जसले भन्सारबाट सामान निकाल्न प्रभाव प्रयोग गरेको भनिएको छ ।
प्रहरीले यी सबैलाई संगठित अपराध समूहको रूपमा लिई अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
महराको पक्राउले राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ । माओवादीभित्रै पनि यस घटनाप्रति असहजता देखिएको छ ।
केही नेताहरूले यो घटनालाई राजनीतिक प्रतिशोध भनेर व्याख्या गरेका छन् भने अर्का समूहले न्यायिक अनुसन्धानमा कोही पनि माथि होइन भन्ने धारणा राखेका छन् ।
पूर्वसभामुख महरा माओवादी आन्दोलनका पुराना नेता हुन् । उनी २०७५ मा सभामुख रहेका बेला बलात्कार प्रयास प्रकरणमा पनि विवादमा तानिएका थिए, तर पछि अदालतबाट सफाइ पाएका थिए ।
प्रहरीले उनलाई हाल चार दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाइरहेको छ ।
अनुसन्धानपछि पर्याप्त प्रमाण फेला परेमा सुन तस्करी तथा संगठित अपराधअन्तर्गत महरामाथि सजाय माग गरी मुद्दा दायर गरिने प्रहरीको भनाइ छ ।
अहिले प्रहरीले महरासँगै अन्य संलग्न व्यक्तिहरूको बैंक कारोबार, सम्पत्ति विवरण र सम्पर्क नेटवर्क पनि जाँचिरहेको छ ।
त्रिभुवन विमानस्थल हुँदै भेपभित्र सुन तस्करीको घटना राज्य संयन्त्रकै संवेदनशील तहमा देखिएको संगठित अपराधको उदाहरण बनेको छ ।
यो घटनाले नेपालको भन्सार, सुरक्षा निकाय र राजनीतिक पहुँचबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।
