राहदानीको हाहाकार, भण्डार रित्तिँदै जाँदा एक तिहाइ कटौती

काठमाण्डू, परराष्ट्र मन्त्रालय र राहदानी विभागले समयमा नै ध्यान पु¥याउन नसक्दा राहदानी वितरणमा समस्या देखिन थालेको छ ।

राहदानी भण्डार रित्तिँदै जान थालेपछि राहदानी नै हाहाकार हुने र त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने अवस्था सिर्जना भएको छ ।

राहदानी विभागले भण्डार रित्तिँदै गएपछि राहदानी वितरणमा एकतिहाइले कटौती गरेको छ ।

देशभरमा गरी दैनिक ५ देखि ६ हजारसम्म वितरण हुँदै आएको राहदानी मंगलवारदेखि मुस्किलले १५ सयदेखि २ हजार मात्रै वितरण हुन थालेको छ ।

विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजारप्रति राहदानी वितरण हुँदै आएकामा मंगलवारदेखि दुई हजार प्रतिभन्दा कम संख्यामा वितरण हुन थालेको छ ।

राहदानी पुस्तिकाको अभाव हुँदै गएपछि विभागले त्यसरी कटौती गरेको हो ।

जसका कारण सर्वसाधारणले राहदानी पाउन अब कैयौं दिन कुर्नुपर्ने भएको छ । विभागले निश्चित संख्यामा कोटा निर्धारण गर्न थालेको छ ।

विभागका अनुार विभागसँग अब १ लाख ७३ हजार प्रति राहदानीमात्रै मौज्दात छ ।

राहदानी खरिदका लागि विभागले नयाँ आपूर्तिकर्तासँग गत साउनमा गरेको सम्झौताअनुसार ११ फागुनबाट मात्र आपूर्ति हुने भएकाले फागुनसम्म सेवाग्राहीले समस्या भोग्नुपर्ने छ ।

विभागले अब अत्यावश्यक पर्नेहरूका हकमा मात्रै राहदानी दिन सक्ने अवस्था आएको बताएको छ ।

परराष्ट्र मन्त्रालय र राहदानी विभागले समयमा नै ध्यान नदिँदा राहदानी बाहकहरूले पनि ड्राइभिङ लाइसेन्सकै जस्तो पीडा भोग्न बाध्य हुने अवस्था आएको छ ।

लाइसेन्स पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ । यसरी नै राहदानी पाउन पनि महिनौं कुर्नुपर्ने अवस्था आएको छ ।

परराष्ट्र मन्त्रालयले विभिन्न विवादका बाबजुद राहदानी खरिदका लागि जर्मनी कम्पनी भेरिडासलाई राहदानी छपाइसम्बन्धी ६ अर्ब ११ करोडको मुख्य ठेक्का दिएको थियो भने जर्मनीकै अर्को कम्पनी म्युहलबाउर आइडी सर्भिसले १ अर्ब ५५ करोडको ठेक्का पाएको थियो ।

यसरी ठेक्का पाएका दुइटै कम्पनीले जेन–जी आन्दोलन र यसले सिर्जना गरेको अन्योलताका कारण आफ्नो कामलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्दा उनीहरूले तोकिएको समयमा राहदानी ठेक्कासम्बन्धी काम सम्पन्न गर्न नसक्ने देखिएको र यसका कारण पनि राहदानीको हाहाकार भएको स्रोतले जानकारी दिएको छ ।

ती कम्पनीले फागुनअघि राहदानी उपलब्ध गराउन नसकिने बताएकाले पनि फागुनसम्म राहदानीको हाहाकार नै हुने देखिएको हो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले इमरजेन्सीमा केही राहदानी खरिद गरेर ल्याएर भने पनि सेवाग्राहीलाई समयमा नै राहादानी उपलब्ध गराउने प्रयास गरिएको बताए ।

उनले राहदानीको अभाव नहुन विभिन्नखाले वैकल्पिक उपायहरूको खोजी गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *