जाँचबुझ आयोगको काममा असहयोग गरेको भन्दै आइजीपी खापुङसँग स्पष्टीकरण माग

काठमाण्डू, भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङसँग बुधबार स्पष्टीकरण सोधेको छ।

आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिएका छन्।

आइजिपीसँग २४ घन्टाभित्र जबाफ माग गरेको पनि शर्माले जानकारी दिए।

आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को-को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरेपनि प्रहरी मुख्यालयले विवरण दिन आनाकानी गरेको थियो। २२ दिनसम्म पत्र यत्तिकै थन्किएपछि आयोगले पत्र लेखेर फेरि विवरण माग गरेको हो।

यद्यपि त्यसपछि पनि प्रहरीले गोलमटोल जवाफ लेखेपछि आयोगले आइजिपी खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर पत्र काटेको थियो।

प्रधान कार्यालयले तैपनि जवाफ दिन आनाकानी गरेर उपत्यका प्रहरी कार्यालयतिर पन्छाएपछि आयोगले खापुङसँग स्पष्टीकरण सोधेको हो।

आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरिसकेको छ।

सोहीअनुसार प्रधान कार्यालयले पनि प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *