२४ भदौको विध्वंसमा संलग्न १४१ विरुद्ध मुद्दा, ३७५ जना पक्राउ

काठमाण्डू, जेन–जी आन्दोलनका क्रममा घुसपैठ गरी २४ भदौमा मच्चाइएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न मुद्दा दायर गरिएको छ भने अपराध कर्ममा संलग्नहरूको खोजी कार्य जारी राखिएको छ ।

प्रहरीका अनुसार आपराधिक कार्य र विध्वंसमा संलग्न भएकाहरूलाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजाना शीर्षकमा मुद्दा दायर गरिएको हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै २१८ जना पक्राउ परेका छन् भने काठमाडांैका विभिन्न घटनामा संलग्न भएकाहरूविरुद्ध ९६ वटा मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने र मुद्दा दायर हुनेमा कोशी प्रदेशमा ३० जना पक्राउ र ४ वटा मुद्दा दायर गरिएको छ ।

मधेसमा २१ जना पक्राउ र ६ वटा मुद्दा, वागमतीमा (उपत्यकाबाहेक) ३३ जना पक्राउ र ११ वटा मुद्दा र गण्डकी प्रदेशमा ३२ जना पक्राउ परेका छन् ।

७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २९ जना पक्राउ, ११ वटा मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ वटा मुद्दा र सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ वटा मुद्दा दायर गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सरकारबाट चरम दमन हुँदा सोही दिनमात्रै २१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

त्यसको प्रतिरोधस्वरूप २४ भदौमा मुलुकमा ठूलो विध्वंस र आपराधिक घटना भएको थियो ।

सोही दिन घुसपैठ गर्नेहरूले ३ जना प्रहरीलाई कुटीकुटी हत्या गरेका थिए ।

यसै गरी राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरका रूपमा रहेका सिंहदरबार, प्रतिनिधिसभा, सर्वोच्च अदालत, अख्तियार, देशभरका प्रहरी चौकीहरू, स्थानीय तह, अन्य सरकारी कार्यालयहरू, सयौं नेताका घरहरू, पार्टी कार्यालयहरू र विभिन्न होटलहरू ध्वस्त पारिएका थिए ।

यसरी विभिन्न संरचनाहरूमा जथाभावी आगो लगाउँदा सोही आगलागीमा परी दर्जनौंको मृत्यु भएको थियो ।

भदौ २३ र २४ को घटनामा गरी जम्मा ७६ जनाले ज्यान गुमाएका थिए भने खर्बौंको क्षति हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *