पोखरा-मुग्लिनको पश्चिम खण्डको ८० प्रतिशत समयमा १४ प्रतिशत काम, टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने मन्त्री ज्वालाको चेतावनी

पोखरा, सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो ।

सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत काम भएको छ ।

२०८१ भदौ १२ मा सक्नुपर्ने पश्चिम खण्डमा अहिलेसम्म १ किलोमिटर पनि पिच भएको छैन । कोरोना र विभिन्न सङ्कट देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको छ ।

कम्पनीले २०२५ डिसेम्बर अन्तिमसम्म निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

यही फेब्रुअरी भित्र ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने सहमति छ । कम्पनीले दिएको टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने चेतावनी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको छ ।

अहिले भने कामको रफ्तार बढाएको उनले बताए । ‘म अघिल्लो पटक आउँदा कामको गति नै थिएन । अहिले केही रफ्तार बढेको छ ।

इक्युपमेण्ट र कामदार थपेको रहेछ,’ अनुगमनका क्रममा उनले भने, ‘कुन समयमा कति काम सक्नुपर्छ भनेर हामीले टाइमकार्ड दिएका छौँ ।

तोकिएको समयमा तोकिएको काम नभए विकल्प खोज्छौँ ।’ निर्माण कम्पनीले खाने पानीका पाइप र बिजुलीको पोलका कारण अवरोध भइरहेको बताएको छ ।

यो खण्डमा पर्ने १ सय २० वटा कल्भर्ट मध्ये ३८ वटा बनाइसकेको छ भने १२ वटा पुलमा १० वटा निर्माणाधीन छ ।

निर्माण कम्पनीले दैनिक रिपोर्ट कार्ड बुझाउने प्रतिबद्धता जनाएपछि ‘टर्मिनेट’ ९तोड्ने अवस्था० हुन लागेको ठेक्कालाई सरकारले निरन्तरता दिएको हो ।

पश्चिम खण्डका आयोजना प्रमुख राजेशप्रसाद पौडेलले अझै पनि कामको प्रगति सन्तोषजनक नरहेको बताए ।

उनले ८० प्रतिशत काम सक्नुपर्ने अवधिमा १४ प्रतिशत काम गरेर सन्तुष्ट हुने अवस्था नभएको भन्दै कामको रफ्तार बढाउन कम्पनीलाई आग्रह गरेका छन् ।

‘काम अहिले पनि राम्रो भएको छैन, केही सुधार भएको छ । अझै स्पिड बढाउनुपर्ने छ,’ उनले भने, ‘हाम्रो तर्फबाट सबै अवरोध हटाउन तयार छौँ ।

तर, कम्पनीको तर्फबाट पनि त्यही खालको उत्साह आवश्यक छ । अझै पर्याप्त इक्युपमेण्ट आइसकेको छैन ।’ कोत्रेदेखि जामुनेसम्म केही काम भएपनि पोखरादेखि कोत्रेसम्मको खण्डमा चाहिँ काम अघि बढ्नै सकेको छैन ।

विजयपुर खोलामा बन्ने भनिएको ठुलो पुलको डिजाइन पनि अझै टुङ्गिएको छैन । सडक पर्ने पालिकाका जनप्रतिनिधिहरूले ठेक्का तोड्ने भन्दा अहिलेकै ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पठाएका थिए ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्ड भने १ वर्षभित्रै सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीको छ । दुवै ठेक्का चिनियाँ कम्पनीले पाएका हुन् ।

साढे ४१ किलोमिटरको पूर्वी खण्डमा हालसम्म १८ किलोमिटर सडक एकतर्फी पिच भएको छ भने ७ किलोमिटर दुईतर्फी पिच भैसकेको छ । पूर्वको प्रगति तुलनात्मक रूपमा राम्रो रहेको आयोजना प्रमुख श्यामकुमार यादवले बताए ।

‘अबको १ वर्षमा पूरै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ । अरू ठाउँमा रफ्तारमा काम भएको छ ।

विमलनगरमा चाहिँ चट्टानका कारण रोकिएको छ,’ उनले भने, ‘यो पनि खोलाबाट रिटेनिङ उठाएर विस्तार गर्ने नयाँ डिजाइन बनाएका छौँ । यसमा लगभग अव कुनै अवरोध छैन ।’ दमौली क्षेत्रमा केही घर टहरा हटाउन बाँकी रहेको उनले सुनाए ।

पूर्वी खण्डमा १४ वटा साना पुल निर्माण भएका छन् । एउटा ठुलो पुल निर्माण भैसकेको छ भने अर्को २ वटा निर्माणाधीन छन् । केही ठाउँमा अझै पोलको समस्या बाँकी रहेको यादवले सुनाए ।

आबुखैरेनीदेखि जामुने खण्ड ६ अर्ब २१ करोडमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पश्चिम खण्डको ठेक्का पनि चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोडमा लिएको हो ।

यसबाहेक मादी र सेतीमा बन्ने सिग्नेचर ब्रिजको काम पनि सन्तोषजनक रूपमा अघि बढेको छैन । यी पुलको छुट्टै ठेक्का सम्झौता भएको हो । पुलमा लगभग ३ प्रतिशत हाराहारी कार्य प्रगति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *