सोलुखुम्बूमा थामे बाढीमा पानीको मात्रा केही कम भएपनि कटान जारी

सोलू, सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका-५, थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्ने क्रम जारी छ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले खुम्बू र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान गरिरहेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीले खोलामा पानीको मात्रा केही कम भएपनि कटान भने जारी रहेको बताए।

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

खुम्बू पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र सारेको छ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ।

बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बू पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक घिमिरेले भने, ‘बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पुर्‍याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ।

बाढी आउनुको कारण खुल्न सकेको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *