एजेन्सी, भारतीय महिला क्रिकेट टिमले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
सफाली वर्मा र दीप्ति शर्माको बलियो अलराउन्ड प्रदर्शनमा आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छाउँदै भारत विश्व च्याम्पियन बनेको हो ।
क्रिकेटको सीमिति संरचनामा भारतीय महिला टिमले जितेको यो पहिलो विश्वकप उपाधि हो ।
मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै २९८ रन बनाएको थियो ।
भारतबाट सफाली र दीप्तिले अर्धशतकीय पारी खेले । सफालीले ७८ बलमा सात चौका र दुई छक्कासहित ८७ रन बनाइन् ।
दीप्तिले ५८ बलमा तीन चौका र एक छक्कासहित ५८ रनको योगदान गरिन् ।
ओपनर स्मृति मन्धनाले ४५ रन जोडिन् । सफाली र स्मृतिले पहिलो विकेटका निम्ति १०४ रनको साझेदारी गरेका थिए ।
विकेटकिपर रीचा घोषले ३४ रनको योगदान गरिन् । जवाफमा दक्षिण अफ्रिका २४६ रनमा अलआउट भयो ।
दक्षिण अफ्रिकाका निम्ति ओपनर तथा कप्तान लौरा वोल्वाड्र्टले १०१ रन बनाइन् ।
उनको यो इनिङ जितका निम्ति पर्याप्त बनेन । एनेरी डेर्कसनले ३५, सुन लुसले ३५ र ताज्मिन ब्रिट्सले २३ रन थपे ।
बलिङतर्फ भारतकी दीप्तिले दक्षिण अफ्रिकाका पाँच खेलाडीलाई पेभिलियनको बाटो देखाइन् । सफालीले दुई र श्री चरामीले एक विकेट लिए ।
