काठमाण्डू, नेपालले भारतलाई मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ ।
बुधबार नेपालले भारतको सिकिमस्थित पाल्जोर रंगशालामा सम्पन्न मैत्रीपूर्ण फुटबलमा घरेलु टिमलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो ।
नेपालको जितमा गोलकिपर अञ्जनाले भारतको दुई पेनाल्टी प्रहार बचाउ गरिन् ।
अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको प्रहार विफल बनाएकी हुन् । भारतकी सन्तोषको प्रहार भने दिशा लिन नसक्दा सिधै पोष्टबाट बाहिरिएको थियो ।
नेपालबाट भएको चार पेनाल्टी प्रहारमध्ये निशा ठोक्कर, सविताराना मगर र रश्मिकुमारी घिसिङले गोल गरिन् ।
नेपालकी कप्तान अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाएकी थिइन् ।
त्यसअघि निर्धारित समयमा मैत्रीपूर्ण फुटबल १–१ को बराबरीमा समाप्त भएपछि नतिजा पेनाल्टी सुटआउटबाट भएको हो ।
खेलको ३०औँ मिनेटमा सौम्या गुगूल्टोहको गोलमा भारतले अग्रता बनाएको थियो ।
नेपालीकी रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएकी थिइन् ।
यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो ।
नेपालले यसअघि इरान, घरेलु टोली समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत भएको खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो ।
