वीरगञ्ज, वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
गतआर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए ।
“वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।”
जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालू आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्जनाका हुँदै चालू आवको तीन महिनामा २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
जबकि गतआवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।
रकमका आधारमा गतआवको तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।
रासस
