एजेन्सी, कतारले दोहामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय वार्ताले तत्काल युद्धविराम लागु गर्ने सहमति जुटाएको बताएको छ।
कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएका छन्।
अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न दुवै पक्षका समिति दोहा र इस्लामाबादमा भेट्ने कतारले जनाएको छ।
कतारको विदेश मन्त्रालयले आशा व्यक्त गर्दै अगाडि भनेको छ, यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्नेछ र क्षेत्रीय स्थिरतातर्फ निर्णायक पहिलो कदम साबित हुनेछ।
जियो टीभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गरे र युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरे।
ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डल अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताएका छन्।
