काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरूको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए ।
उनले भने, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौँ । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो ।
भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ ।
मन्त्रिपरिषद्मा जान्छ । उहाँहरूलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु ।
कांग्रेस सत्ता पक्षको हो । तर, सरकारमा छैनौँ । सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् ।
तर, जो सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ । हाम्रो काम खबरदारी गर्ने हो ।’ त्यस्तै उनले आज देशको परिदृश्य हेर्दा भयावह अवस्थामा रहेको बताए ।
गिरिजाप्रसाद बितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरूले पाठ सिक्न नसकेको बताए ।
उनले भने,‘ जुन परिदृश्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावह अवस्था देशमा छ ।
गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो ।
तर, १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद बितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौँ । नेताहरूले हामीहरूले केही पाठ नै सिक्न सकेनौँ ।’
त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।