युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र रुस सकारात्मक, वार्ता फलदायी भएको ट्रम्पको दावी

एजेन्सी, युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको अमेरिका र रुसबीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

ट्रम्पले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता ‘राम्रो र फलदायी’ भएको दाबी गरेका हुन् ।

पुटिन र अमेरिकी दूत स्टिभ विटकोफबीच मस्कोमा भएको भेटपछि क्रेमलिनले शान्ति प्रक्रियामा अमेरिकाको ‘सावधानीपूर्ण आशावाद’लाई समर्थन गरेको बताएको थियो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा वार्ताले ‘यो डरलाग्दो, रक्तपातपूर्ण युद्ध अन्ततः समाप्त हुने धेरै राम्रो मौका प्रदान गरेको’ बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पुटिनले युद्ध जारी राख्न वार्तालाई लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

बेलायती प्रधानमन्त्री सर केइर स्टारमरले रुसी राष्ट्रपतिलाई युद्धविराम प्रस्तावहरूसँग ‘खेल खेल्न’ दिन नसकिने बताएका छन्।

यो साताको सुरुमा, युक्रेनले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौता स्वीकार गरेको थियो, तर रूसले अझै यसबारे स्पष्ट पारेको छैन ।

बीबीसीका अनुसार युद्धविरामको प्रस्तावबारे थप प्रष्ट हुनुपर्ने पुटिनको प्रतिक्रियापछि जेलेन्स्कीले यसलाई रूसको नयाँ चालको संज्ञा दिएका थिए ।

जेलेन्स्कीले पुटिनले युद्धबाट बाहिर निस्कन नचाहेको र कूटनीतिलाई तोडमोड गर्न खोजिरहेको आरोप लगाएका छन्।

पुटिनले संवादलाई लम्ब्याउने र वार्तालाई अर्थहीन बनाउनुका साथै आक्रमण जारी राख्ने रूसी रणनीति रहेको आरोप लगाएका छन् ।

बेलायती प्रधानमन्त्री सर केइरले ट्रम्पको युद्धविराम प्रस्तावलाई क्रेमलिनको ‘पूर्ण बेवास्ता’ ले पुटिन ‘शान्तिप्रति गम्भीर नभएको’ देखाएको बताए।

उनले रुस वार्तामा आए युद्धविरामको अनुगमन गर्न तयार हुनुपर्ने र नआए रुसमाथि आर्थिक दबाब बढाउनुपर्ने बताएका छन्।

जी ७ सदस्यहरूले युक्रेनीहरूले समर्थन गरेको युद्धविरामको अमेरिकी प्रस्तावसँग सहमति जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताबाट मात्र युद्ध अन्त्य हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *