जनकपुरधाम, जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा मिथिलाको धार्मिक यात्रा शुक्रबार बिहान सम्पन्न भएको हो ।
मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् ।
धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार साँझ जनकपुरधाम फर्किएको थियो ।
फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा सर्वसाधारणले जनकपुरधामको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन् ।
अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने विश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ ।
अन्तगृह परिक्रमामा साधु सन्तहरूसमेत सहभागी हुने भएकोले जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु बिक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्छ ।
सोही कारण जनकपुरधाममा अन्तरगृह परिक्रमा भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने परम्परा रहेको छ ।
यसर्थ मधेस प्रदेशका अधिकाङ्श जिल्लाहरूमा आज (शुक्रबार) नै होली मनाइए पनि जनकपुरधाम र यस वरिपरिको क्षेत्रमा शनिबार मात्रै यो पर्व मनाइने छ ।