काठमाण्डू महानगरका मेयर वालेनले कार्यकारी प्रमुख सरोज गुरागाईंलाई हाजिर हुन नदिने

काठमाण्डू, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर नगराउने अडान लिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जवाफी पत्र पठाएका छन् ।

“काठमाडौं टावर” परियोजनासँग सम्बन्धित विवादका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बालेनले बिदामा राखेका छन् ।

शाहले गुरागाईंले “त्रुटिपूर्ण कार्य” गरेको आरोप लगाउँदै मन्त्रालयसँग अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न वा स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न माग गरेका छन् ।

मन्त्रालयले बुधबार गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै महानगरपालिकालाई पत्राचार गरेको थियो । यसको जवाफमा मेयर शाहले अहिलेको अवस्थामा हाजिर गराउन नसकिने ठोकुवा गरेका छन् ।

महानगरले आफ्नो पत्रमा “काठमाडौं टावर” सार्वजनिक-निजी साझेदारीमा आधारित परियोजना भएको र यस्ता परियोजनाहरूको सञ्चालन व्यवस्थापन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार साझेदारी बोर्ड र नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरेको छ ।

महानगरले अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुचारु राख्ने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *