काठमाण्डू, सन् २०२३ को १९ नोभेम्बरमा यही अष्ट्रेलियाली टोलीले कप्तान रोहित शर्माको नेतृत्वमा रहेको भारतलाई घरेलु मैदानमा दोस्रो तथा समग्रमा तेस्रो एकदिवसीय क्रिकेट विश्वकप जित्ने सपनाबाट बञ्चित गरेको थियो ।
तर त्यसको १५ महिनापछि मङ्गलबार राति यूएईमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराउँदै फाइनलको टिकट काटेको छ । यसरी भारतले अष्ट्रेलियासँग बदला लिएको छ ।
भारतको जितका पूर्वकप्तान विराट कोहली नायक बने । उनले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले । खेलको उत्कृष्ट खेलाडीको पुरस्कार कोहलीलाई नै प्रदान गरियो ।

दुबई अन्तर्राष्ट्रिय रङ्शालामा अष्ट्रेलियाले भारतलाई जितका लागि २६५ रनको लक्ष्य दिएको थियो । भारतले ४८.१ ओभरमा मात्र ६ विकेट गुमाउँदै यो लक्ष्य हासिल गर्यो ।
भारतको जितमा कोहलीबाहेक केएल राहुलको इनिङ्सले पनि महत्वपूर्ण भूमिका खेलेको थियो । राहुलले ४२ रनको अविजित इनिङ मात्र खेलेनन्, विजयी छक्का पनि प्रहार गरे ।
यसबाहेक श्रेयस अय्यरले ४५, अक्षर पटेलले २७ र हार्दिक पाण्ड्याले २८ रन बनाए । दुई सय ६५ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारतको सुरुवात राम्रो भएन् ।
उसले ४३ रन बाउँदा २ विकेट गुमाएको थियो । २९ बलमा २८ रन बनाएपछि कप्तान शर्मा कुपर कोनेलीको बलमा आउट भए । कप्तान शर्मा २८ रन बनाएर आउट भएका हुन् ।
शुभमन गिलले पनि ठूलो इनिङ्स खेल्न सकेनन् । उनी ८ रनमा आउट भए ।
तर कोहली र अय्यरले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै टोलीलाई सुरुवाती कमजोरीबाट मुक्त गर्न मद्दत गरे ।
यस क्रममा कोहलीले आफ्नो ७४औं अर्धशतक पनि पूरा गरे । यति मात्र होइन कोहली एकदिवसीय खेलमा लक्ष्य पछ्याउँदै ८ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी पनि बने ।
भारतलाई जितका लागि ४० रन आवश्यक हुँदा कोहली ८४ रनमा आउट भए र उनी आफ्नो शतक पूरा गर्नबाट भने चुके ।
यसपछि, राहुलले हार्दिक पाण्ड्यासँगै जिम्मेवारी सम्हाले । पाण्ड्याले २४ बलमा ३ छक्काको मद्दतले २८ रनको इनिङ्स खेले ।
यस अवधिमा अस्ट्रेलियाले ७ बलरलाई प्रयोग गर्यो । तर, नथन इलिस र एडम जाम्पाबाहेक अरु कुनै पनि बलर प्रभावकारी साबित भएनन् । जाम्पा र इलिसले सर्वाधिक २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाली टोलीको सुरुवात खराब रह्यो । तेस्रो ओभरको अन्तिम बलमा मोहम्मद शामीले कपुर कोनेलीलाई पभेलियनमा फिर्ता पठाए ।
तर यसपछि ट्राभिस हेड र कप्तान स्टिभ स्मिथबीच दोस्रो विकेटको लागि ५० रनको साझेदारी भयो ।
वरुण चक्रवर्तीको बलमा आउट हुनुअघि हेडले ३३ बलमा ३९ रन बनाए । स्मिथले र्धशतकीय पारी खेल्दै सर्वाधिक ७२ र एलेक्स केरीले ६१ रन बनाए ।
भारतका लागि शामी सबैभन्दा सफल बलर बने । उनले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । रवीन्द्र जडेजा र चक्रवर्तीले समान २ विकेट लिए ।
यससँगै च्याम्पियन्स ट्रफीमा भारतीय क्रिकेट टोलीको अपराजित यात्रा जारी छ । समूह चरणमा भारतीय टोली आफ्ना ३ वटै खेल जितेर शीर्ष स्थानमा रहेको थियो ।
दुई पटकको विजेता भारत लगातार दोस्रो पटक च्याम्पियन्स ट्रफी को फाइनलमा पुगेको हो । अब भारतले दक्षिण अफ्रिको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।