काठमाण्डू, पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो ।
बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको छ ।
शुरुआतमा महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।
तर, दुवै जनालाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको हो । सिम्रिक एयरलाइन्सको हेलिकप्टरमार्फत दुवै जनालाई काठमाडौँ ल्याइएको थियो ।