काठमाण्डू, नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् ।
तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् ।
केही दिनयता किसानले काउलीको मूल्य नपाएपछि बारीमै जोत्न थालेका छन् ।
गत वर्ष असारमा देशकै ठुलो तरकारी बजारमा व्यापारीले गोलभेँडाको भाउ नपाएको भन्दै ठुलो परिणाम गोलभेँडा सडकमा फ्याँकेर विरोध गरेका थिए ।
त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम नै रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए ।
ठ्याक्कै त्यही बेला कतिपय नेपाली सस उद्योग बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयातसमेत भएको थियो ।
यस्तै २०७९ माघमा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनकै किसानले नारायणगढ, पुल्चोक सडकमा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी फालेर विरोध गरेका थिए ।
२०७८ मा मकवानपुर, काभ्रे, चितवनलगायत विभिन्न स्थानका किसानले हजारौँ केजी काउली उखेलेर फालेका थिए ।
यो हेर्दा हरेक वर्ष तरकारी उत्पादक किसानले तरकारी भाउ नपाउने समस्या रहेको देखिन्छ ।
सोही समस्या यस पटक पनि दोहोरिएको हो । केही दिनदेखि देशका विभिन्न स्थानका किसानले बारीमै काउली फालिरहेका छन् ।
प्रतिकेजी उत्पादन लागत २० रुपियाँ पर्ने काउली पाँच रुपियाँमा पनि बिक्न छोडेपछि अधिकांश किसानले बारीमै जोतेर पुर्न थालेका छन् ।
मकवानपुरका तरकारी उत्पादक राजु अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत लाखौँ खर्चेर उत्पादन गरेको काउली र मुलाले भाउ नपाएर बारीमै खेर जाने अवस्था आएको गुनासो गरे ।
उनले स्टाटसमार्फत भनेका छन्, “तरकारी उत्पादनका लागि ऋण लिएर लगानी गरियो, लागत पनि उठेन, त्यही ऋण तिर्नलाई विदेश भासिनुको विकल्प छैन् ।”
यो समस्या उनको मात्रै होइन अधिकांश किसानले यस्तै समस्या भोग्दै आएका छन् ।
त्यसो त गत साता भरतपुर–२४ केरुङ ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडका सेयर सदस्य किसानबाट उत्पादित काउलीले बजार मूल्य नै नपाएपछि बारीमै ट्याक्टर लगाएर जोत्न बाध्य भएका थिए ।
राष्ट्रिय किसान आयोगका सदस्य सूर्यप्रसाद खनालले भारतबाट खुलेआम रूपमा ठुलो परिणाममा तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमा पुर्नुपर्ने अवस्था आएको बताए ।
भारतको तरकारीको लागत कम हुने र स्थानीय तरकारीको लागत बढी हुँदा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कृषक मर्कामा परेको उनको भनाइ छ ।
भारतबाट धेरै तरकारी आएकै कारणले किसान मर्कामा परेको बताउँदै उनले भने , “यो समस्या हरेक वर्षको तरकारी सिजनमा हुन्छ, यसको दीर्घकालीन समाधान खोज्नु पर्छ तर सरकार किसानको पक्षमा देखिँदैन ।”
कडा मेहनत र लगानीले उत्पादन गरेका तरकारी बजारमा पुर्याउनुको सट्टा बारीमै पुर्नुपर्ने कारुणिक अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
सरकारी निकायबाट किसानका समस्याप्रति गम्भीर भई समाधान दिनेभन्दा पनि आलटाल गरेर पन्छिने प्रवृत्तिले गर्दा नेपाली किसान कहिल्यै माथि उठ्न नसकेको उनको आरोप छ ।
देशकै ठूला तरकारी बजारमा भित्रिएको तरकारीमध्ये ४५ प्रतिशत बजार मागको हिस्सा भारतीय तरकारीले ओगटेको छ । नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ५५ प्रतिशत छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारतबाट आउने तरकारीमध्ये ठूलो परिणाम आलु र प्याज छ ।
पछिल्लो पटक कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु) समेत भारतबाट आएको छ ।
अघिल्ला वर्षमा यस्ता कन्दमूल असाध्यै कम आउने गरेकामा यस पटक यी वस्तुको आयात बढेको कालीमाटीका थोक व्यापारीहरू बताउँछन् ।
समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा हरिया तरकारीभन्दा पनि आलु, प्याज र कागती बढी आउने गरेको जानकारी दिए ।
पछिल्लो पटक भारतबाट हरिया तरकारीमा हरियो फर्सी, घिउसिमी, हरियो केराउ, गाजर, भिन्डी, ठुलो गोलभेँडा आएको तर यसको परिणाम असाध्यै थोरै भएको उनको भनाइ छ ।
समितिका अनुसार भारतबाट भित्रिएको आलुले अहिले बजारको मागको ६० प्रतिशत हिस्सा ओगटेको छ भने प्याज त लगभग ९९ प्रतिशत नै भारतकै भर पर्नु पर्छ ।
