काठमाण्डू, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।
रवि गृहमन्त्री हुँदा प्रहरी प्रमुखलाई बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप कांग्रेस सांसद खतिवडाले लगाएपछि रास्वपाको अवरोधका कारण बैठक स्थगित गरिएको छ।
रविले प्रहरीको बढुवामा पनि आफ्नालाई ‘हाइजम्प’ र ‘लङजम्प’ सुरु गरेको आरोप पनि लगाएका थिए।
यसअघि सभामुखको आसनमा बसेकी इन्दिरा रानामगरले विशेष समय सुरु गर्न ‘विशेष समय’ भनिसकेकी थिइन्।
तर, आफ्नो बोल्ने पालो नआएको भन्दै कांग्रेस सांसद खतिवडाले आवाज उठाए। उनको कुरा सुनेपछि इन्दिराले खतिवडालाई दुई मिनेटको समय दिएकी थिइन्।
तर, विशेष समय सुरु भएपछि पुन: शून्य समयमा नै फर्काइएको भन्दै रास्वपा सांसद गणेश पराजुलीले विरोध गरे। संसदको रेकर्डबाट खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।
खतिवडाको अभिव्यक्तिपछि रास्वपा सांसद र उपसभामुख नै आमनेसामने भएका थिए। रास्वपाको विरोधलाई माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि साथ दिने उद्घोष गरे।
रास्वपा सांसदहरुले आपत्ति जनाएर सदन अवरोध गरे सभामुख देवराज घिमिरे आउनु परेको थियो।
सभामुख घिमिरेले आएपछि कसलाई बोल्न दिने कसलाई बोल्न नदिने भन्ने विषयमा विवाद नगर्न आग्रह गरेका थिए।
तर,रास्वपा सांसदले अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगन गरे।
यसअघि पनि आजकै प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच भनाभन चलेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार सदनप्रति अनुत्तरदायी भएको आरोप लगाएपछि भनाभन सुरु भएको थियो।
कार्यसूचीमा भएको विषय एकाएक हटाइएको भन्दै उनले सरकार अनुत्तरदायी भएको आरोप लगाएका थिए।सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको बताएका थिए।
‘आजको विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर कार्यतालिका बनाइयो। आज भ्रष्टाचार विधेयक पारित गर्ने थियो।
यहाँ पस्दा सरकारले समय छैन भनेर सूचीबाट हटायो भनेर जानकारी आयो,’ आक्रोशित पाण्डेले प्रश्न गरे, ‘सरकारले नियम पालना गर्नुपर्दैनरु संसदले सधैँ सरकारले भनेको गर्ने हो। जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने होरु’
पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले सदन सभामुखले चलाउने भएकाले सांसदलाई जे लाग्यो त्यही अनुसार नहुने जवाफ फर्काएका थिए।
‘कार्यसूचीमा के रहने नरहने भन्ने राख्नुभयो। सरकारले थप्न पनि सक्छ। कार्यसूची हटाउन पनि सक्छ‚’ उनले भनेका थिए। त्यसपश्चात् बोल्दै रास्वपा सांसद गणेश पराजुलीले ‘दुई तिहाइको धाक दिने हो’ भन्दै प्रश्न गरेका थिए।
एमाले प्रमुख सचेतक महेश बर्तौलालाई प्रश्न गर्दै उनले भने‚ ‘सांसदले सरकारले सदन चलाउन सभामुखलाई सिकाउने हो ?’
