मनाङ, मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन् ।
यही १८ माघमा बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।
उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । ‘डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ ।
स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने ।
डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका उनले बताए ।
‘आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ’, प्रजिअ आचार्यले भने, ‘साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।’
जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।
कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए ।
अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे ।
भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् ।
यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्णरूपमा लोप हुनसक्ने उनले बताए ।
उनका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनाश हुनेसक्ने अनुमान गर्न सकिन्छ ।
रासस