काठमाण्डू, त्रिभुवन विमानस्थल काठमाडौंबाट हङकङ उडान भरेको क्याथे प्यासिफिक एयरलाइन्सले यात्रुलाई विषाक्क्त खाना खुवाइएकै कारण ४३ जना यात्रुहरु विरामी परेको अध्ययनबाट खुलेको छ।
त्रिभुवन विमानस्थलबाट हङकङका लागि गत पुस २४ को उडानमा १० जना र २५ को उडानमा १८ जना यात्रुलाई खाद्य विषाक्तता भएको जानकारी पाएको थियो। त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत पुस २८ मा विभागका महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा बैठक डाँकेर चार सदस्यीय छानविन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।
विभागका बरिष्ठ खाद्य अधिकृत सुमन धितालको संयोजकत्वमा गठित चार सदस्यीय अध्ययन कार्यदलको छानबिनबाट यस्तो तथ्य बाहिर आएको हो।
सो अध्ययन कार्यदलले उक्त विषाक्क्त खाना क्याथे प्यासिफिक खानपान सेवा (एचके) लिमिटेड र हङकङ अन्तराष्ट्रिय विमानस्थलको रोड पूर्व रहेको ११ क्याटरिङ कान्टाउले तयार गरेको खुलेको छ।
दुई पटकको काठमाडौंदेखि हङकङ उडानका क्रममा २८ जना यात्रुलाई मात्रै खाद्य विषाक्क्ता भएको झुटो तथ्य उक्त उडान कम्पनीले विभागलाई दिएपनि अध्ययन समितिको छानविनबाट ४३ जना यात्रु विरामी परेको खुलेको हो।
हङकङको डिपाटमेन्ट अफ हेल्थ मातहतको सेन्टर फर हेल्थ प्रोटेक्सन९सिएचपी०ले उक्त खाद्य विषाक्तता उडानका दौरानमा यात्रुलाई खुवाइएको खानाबाटै भएको देखाएको छ।
अध्ययन कार्यदलले खाना आपूर्ति गर्ने कम्पनीको उत्पादनको गुणस्तर प्रमाणित प्रमाणपत्रदेखि खानाको उत्पादन मिति, यात्रुलाई के कस्तो अवस्थामा र कसरी खाना खुवाइएको थियो, भण्डारण कसरी गरिएको थियो भन्ने पक्षको चेकजाँच गरेको थियो।
खानाको उत्पादन मितिदेखि त्यसको मेनु भण्डारणको तापक्रम, खानाको स्वरुप आदि विस्तृत अध्ययनबाट यस्तो तथ्य फेला परेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताए।
उनले भने, ‘अध्ययनले के देखायो भने, क्याथे प्यासिफिक एयरलाइन्सले यात्रुलाई विषाक्त खाना खुवाएको रहेछ।’