काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपालले आज अन्तिम तथा छैटौँ खेलमा थाइल्याण्डको सामना गर्दैछ ।
यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
पाँच म्याचमा लगातार हार बेहोरिसकेको नेपाल अब सान्त्वना जीतको खोजीमा छ । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो ।
यस्तै, नेपालले दोस्रो म्याचमा थाइल्याण्डविरुद्ध ४ विकेट, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रन तथा चौथो म्याचमा थाइल्याण्डविरुद्ध ५ रनको पराजय बेहोर्यो ।
यस्तै, सिरिजअन्तर्गत पाचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग १० विकेटको फराकिलो हारको सामना गर्यो ।

यस खेलमा नेपालले ब्याटिङ राम्रो गरे पनि लज्जास्पद हार बेहोरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
बलिङ र फिल्डिङमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । सोही कारण नेपालले घरमै १० विकेटको हार बेहोरेको हो ।
बलिङ र फिल्डिङ बिर्सनलायक रहे पनि ब्याटिङमा यू–१९ टिमकी कप्तान पूजा महतोले कीर्तिमानी अर्धशतकीय पारी खेलिन् ।
उनले नेदरल्याण्डसविरुद्ध ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको पारी खेलेकी हुन् ।
योसँगै पूजा नेदरल्याण्ड्सविरुद्ध अर्धशतकीय इनिङ खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।
साथै, उनी जारी श्रृंखलामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा शीर्ष स्थानमा पनि उक्लिइन् ।
पूजाले यस सिरिजमा ५ म्याच खेल्दा १ सय २८ रन बनाएकी छन् । आफूले ठीकठाक प्रदर्शन गर्दा पनि घरेलु मैदानमै नेपालले जितको खाता खोल्न नसकेपछि उनी दुःखी छिन् ।

सिरिज जित्ने दौडबाट बाहिरिने पनि नेपालसामु इतिहास रच्ने मौका भने अझै कायम छ ।
यदि शुक्रबार जीत निकालेमा नेपालले पहिलोपटक थाइल्याण्डलाई हराउँदै इतिहास रच्नेछ ।
हालसम्म नेपाली महिला टिमले थाइल्याण्डसँग ५ टी–२० आई म्याच खेलेको छ । तर, नेपाल ती पाँचवटै खेलमा पराजित भएको विगत छ ।
थाइल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ : सीता राना मगर, सम्झना खड्का, इन्दू बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, रुबीना क्षेत्री, रोमा थापा, विन्दू रावल, कविता जोशी, ईश्वरी विष्ट र मनीषा उपाध्याय ।
