म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु : महामन्त्री थापा

पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरू फेर्ने विषयमा कांग्रेस र एमालेमा कुनै छलफल नभएको बताएका छन्।

पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

सरकारमा गएका कांग्रेसका मन्त्रीहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउँदै अब ६ महिनाभित्र काम गरेर देखाउनुपर्ने बताएका थिए।

सरकार नबदलिने उल्लेख गर्दै उनले काम गर्ने शैली भने बदल्नु पर्ने उनको भनाइ छ।

‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ। त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ महामन्त्री थापाले भने।

फरक प्रसंगमा थापाले आफू कुनै गुटविशेषको मात्र नभएर सिंगो कांग्रेसको बन्न चाहेको बताएका छन्।

म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।

पार्टीको १५ औं महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भइनसकेको बताएका छन्।

आफू १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार काम गर्दै आएको उनको भनाइ थियो। १५ औं महाधिवेशन आउन अझ समय बाँकी रहेकाले उम्मेदवारीबारे चर्चा गर्ने बेला आइनसकेको बताए।

‘अहिले नै १५औं महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन,’ उनले भने।

कांग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *