काठमाण्डू, घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा आयोजक नेपालले पाँचौं खेलमा आज नेदरल्याण्ड्सको सामना गर्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
यस श्रृंखलामा नेपाली टिम प्रतिस्पर्धात्मक म्याच खेल्न सफल भएपनि फिनिसिङमा चुकिरहेको छ ।
नेपालले नेदरल्याण्ड्सविरुद्ध २० रनको हार बेहोर्दै सिरिजको सुरुवात गरेको थियो ।
त्यस खेलमा नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
यस्तै, दोस्रो खेलमा नेपालको भेट थाइल्याण्डसँग भयो । त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १ सय १ रन बनायो ।
राम्रो बलिङ गरेको उक्त खेलमा खराब फिल्डिङका कारण नेपालले ४ विकेटको हार बेहोर्यो ।
यस्तै, जारी श्रृंखलामा नेपालले तेस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्यो ।
उक्त खेलमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।
त्यस खेलमा फिनिसिङमा चुक्दा नेपालले १५ रनको पराजय बेहोर्यो ।
चौथो खेलमा नेपालले मंगलबार थाइल्याण्डसँग खेल्यो । यस खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले थाइल्याण्डलाई १०६ रनमा रोक्यो ।
र, नेपाललाई मंगलबार थाइल्याण्डविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने सुनौलो मौका थियो । तर, प्रारम्भिक ब्याटर नचल्दा नेपालले ५ रनको साँघुरो हार बेहोर्यो ।
यस खेलमा १०७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो ।
यो हारपछि घरेलु मैदानमा सिरिज जित्ने नेपालको सपना अधुरै रहेको छ । नेपाल अब बाँकी दुई खेलमा राम्रो क्रिकेट खेलेर सिरिजको अन्त्य गर्ने सोचमा छ ।
नेपाली महिला टिमले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।
तुलनात्मकरूपमा आफूभन्दा बलियो टिमविरुद्ध खेलिरहेकाले पनि नेपालले अपेक्षाकृत नतिजा हात पार्न सकिरहेको छैन् ।
यद्यपि नेपालले विगतभन्दा ब्याटिङमा थोरै सुधार गरेको देखिन्छ ।
नेपालको प्लेइङ–११ ” सीताराना मगर, इन्दू बर्मा (कप्तान), पूजा महतो, रुबीना क्षेत्री, रोमा थापा, विन्दू रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव र मनीषा उपाध्याय ।
