काठमाण्डू, विदेशी मुद्राको कूल सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १३ दशमलव ५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत पुस मसान्तमा १० दशमलव ३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।
गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।
आव २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।
शोधनान्तर बचत २ खर्ब ४९ अर्ब नाघ्यो
शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा चालू खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।