पाल्पा, प्रधानमन्त्री केपी ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् ।
शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे ।
प्रधानमन्त्री ओलीले पाल्पा एक उर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट गरे ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित थिए ।