खालिदा जिया गम्भीर बिमार, विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

एजेन्सी, बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन गएकी छिन् ।

ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।

राति ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्किएकी ७९ वर्षीया जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छिन् ।

उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिने बताइएको छ ।

जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू छन् भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो ।

जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनी प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाको निवास फिरोजा नजिकै भेला भएका थिए।

लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्।

खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए ।

ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बीएनपी नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ्य भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् ।

नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “उहाँ हामीकहाँ स्वस्थ्य भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ ।

हामी सबै उहाँको सशुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *