पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतलाई ३ घण्टा लामो बयान दिएका छन्।
न्यायाधीश नीतिज राईको इजलासमा रविले बयान दिएका हुन्। बयानका क्रममा उनले यसअघि दाबी गर्दै आएजस्तै ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए।
रविको बयान नसकिएकाले शुक्रबार पनि उनीसँग राई इजलासले बयान लिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ।
आइतबार पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जना र ८ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।
सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट जीबी राईको अध्यक्षतामा चलाइएको गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार रहेका छविलाल जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ।