नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्त नलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

काठमाण्डू, नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्त नली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड ’क्वाइल एम्बोलाइजेशन’ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा.शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा.सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो ।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्त नली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ।

यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ ।

समयमै उपचार नगरिएमा यी रक्त नलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ।

नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सकहरूको भनाइ छ ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधि जडित पातलो ट्यूबमार्फत् सुन्निएका रक्त नलीमा साना धातुका क्वाइल राखिन्छ।

यी क्वाइलहरूले रक्त प्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन् ।

’क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गर्नु भएका डा.पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि भएको बताउनुभयो ।

यो सफलताले अत्याधुनिक स्वास्थ्य सेवामा नर्भिक अस्पतालको नेतृत्वदायी भूमिकालाई अझ प्रस्ट बताएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *