पत्रकार महासंघको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल बिजयी

काठमाण्डू, नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ ।

महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बनेकी छन् ।

तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसकेकी छन् ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले जित हासिल गरेका छन्।

महासंघमा गत शुक्रवार केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्वका लागि चुनाव भएको थियो ।

सो निर्वाचनमा केन्द्रीय पदाधिकारीमा शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भए ।

उनी श्रमजीवी पत्रकारहरुको मुद्दा स्थापित गर्न लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।

यसै गरी अन्य पदाधिकारीमा खुलातर्फ सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, समावेशी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, लेखा समिति संयोजकमा केसी लामिछानेलगायत विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *