नवलपुर, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ ।
वि.सं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो ।
मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।
“पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ”, उनलेृ भने , “अहिले सबबेस, बेस, अप्रोज रोड ९नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम०, कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।”
यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले भने ।
त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ ।
गैँडाकोट, देवचुली र मध्यविन्दू नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए ।
सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए ।
“अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ”, उनले भने , “निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।”
यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताए ।
हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इञ्जिनीयर खनालको भनाइ छ ।
मध्यविन्दू नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनको भनाइ छ ।
सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनले बतथाए ।
नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी विसं २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडकाबिच सम्झौता भएको थियो ।
नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तात्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।
रासस