काठमाण्डू, स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा करिव ५८ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र दिउँसो तीन बजेसम्म ५८ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिइन् ।
मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताइन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।
निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।