मकवानपुरको हेटौँडा–भैसे सडकखण्डको चौकीटोलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय पक्राउ

हेटौंडा, स्रोत नखुलेको करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो ।

मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार काठमाडौंबाट हेडौटातर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ज ०७६५ नम्बरको इभी माइक्रोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

कुशवाहबाट युएस डलर १२ हजार, पाठकबाट युरो १४ हजार र माण्डावतको साथबाट २० यूएस डलर हजार बरामद भएको छ । बरामद रकम नेपाली रुपैयाँ ६२ लाख ९० हजार ३५ बराबर छ ।

मकवानपुर प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा चेकजाँचको क्रममा यो अवैध मुद्रा पत्ता लागेको हो।

बसभित्र अन्य यात्रु सामान्य अवस्थामा रहे पनि पक्राउ परेकाहरूको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको झोला र शरीरमा खोजतलास गरेको थियो। उनीहरुको झोला र शरीर खानतलासी गर्दा अवैध रूपमा लुकाइ राखिएको विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी अनुसन्धान अघि बढाइएको छ।

यो प्रकरणलाई राजस्व अनुसन्धान विभाग, मीनभवन, ललितपुरमा पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी अर्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *