काठमाण्डू, देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले आज (बिहीबार) बिहान जारी गरेको सूचनामा जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी,आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक /दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।