काठमाण्डू, नेपाल यू–१९ महिला विश्वकपमा छनोट भएको छ ।
एसिया छनोटअन्तर्गत बुधबार भएको खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले २१ र सावित्रा धामीले १२ रन बनाइन् । साथै, सोनी पाख्रिनले १३ रन जोडिन् ।
यसअघि घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । यूएईका लागि समाइरा धरनिधर्कले ३० र रिनिता राजितले २० रन बनाइन् ।
नेपालका लागि कृश्मा गुरुङले ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २–२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् ।