अर्थतन्त्रका सवल सूचकका जगमा कमजोर क्षेत्र सुधार्न अर्थमन्त्री पौडेलले दिए निर्देशन

काठमाण्डू, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैङ्कमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भएपनि आयात, निर्यात, उत्पादन, माग, पुँजीगत खर्च, लगानीलगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरूलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रूपमा सदुपयोग गर्न जरुरी रहेको बताए ।

उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारणहरू र निराकरणका उपायहरू पनि उत्तिकै आवश्यक हुने उल्लेख गरे ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रूपमा लिई लगानी बढाउन सकिने धारणा व्यक्त गरे ।

उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *