जनकपुरधाम – छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो ।
खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन् ।
त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खिर) लिने चलन रहेको जनकपुरधामकी एक व्रतालु ज्योति झाले बताइन् ।
यो दिन व्रतालुले आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गर्ने गर्छन् ।
अनि राति चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाइ सोही प्रसाद ग्रहण गर्छन् । यसदिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ । ‘्
हामी यो सबै विधि मानेर व्रत बस्ने तयारी गरिरहेका छौँ,’ महेन्द्रनगरकी ७५ वर्षीया वृद्धा गीता झाले भन्छिन् ।
छठको तेस्रो दिन अर्थात षष्ठीमा गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी ६५ वर्षीया संगीतादेवी यादव छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनु पर्ने बताउँछिन् । ‘
पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ,’ उनले भनिन् । यसदिन जलासयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिइने गरिन्छ ।
छठको चौथो तथा अन्तिम दिनलाई पारन ९पार्वण० भनिन्छ । यसदिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन् । प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
पण्डित लालबाबु झाका अनुसार अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् अनि सुनाउँछन् ।
यस पर्वमा यथासम्भव टुप्पोमा पात भएका चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ ।
छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिंगारिएको छ ।
श्रद्धालुहरूले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, बिहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी र तलाउमा छठ पर्व मनाउने गर्छन् ।
दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।
छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड रहेको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको भनाइ छ ।
चारदिने छठ पर्वको पहिलो दिन मंगलबार व्रतालुले नहाखाय मनाए । यो दिन उनीहरूले नुहाएर चोखो बस्त्र धारण गरी प्याज र लसुन बिनाको अरबा चामल सेवन गरेका थिए ।
पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ । यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका थिए ।