सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

सकियो काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण

इलाम, इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।

गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा पुनर्निर्माण तथा पुनःस्थापना गरी सोमबार दिउँसो ४।३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् ।

काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरुबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जाहरु लगायतका सामग्रीहरु उपलब्ध गराएको छ ।

निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् ।

यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्‍याएको थियो ।

त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्‍याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो ।

५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो ।

प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *