काठमाण्डू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।
गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।
महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए ।
अधिकारीले सो कामको योजना करिब ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो ।
उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए ।
हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।
अधिकारीले चालू आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भए पनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गरे ।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे ।
ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए ।
महानिर्देशक अधिकारीले भने , ‘‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ ।
यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ ।
त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ ।
अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नु पर्यो ।
त्यो रनवेमा जोड् ने ठाउँमा अहिले हामीले खनेर टयाक्सी वेसम्म लिएर आउने हो । त्यहाँ हामीले खन्नु पर्यो ।
भोलिपल्ट फेरि बिहान फ्लाइट हुने बेलासम्म रनवेको दायाँबायाँ ७५ मिटर त फेरि जमिन नै देखाउनुपर्यो । भनेपछि खन्नुपर्यो ।’’
त्यसपछि माटो त्यहाँ फिल गर्नुपर्यो । बेस फिल गर्नुपर्यो । त्यसपछि पिच गर्नुपर्यो । भोलिपल्ट हामीले रनवे पनि क्लियर गर्नुपर्यो ।
होइन भने आईकाओको स्टान्टर्डभित्र नपर्ने भएकाले भोलिपल्ट हामीले एयरपोर्ट फेरि खोल्न सक्दैनौँ । त्यस कारण हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो ।
त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो । यो १० घण्टा किन गर्नुभयो, ८ घण्टा किन गर्नुभएन ? भन्ने प्रश्न पनि छ ।
१० घण्टा बन्द गर्दा यो ५ महिनामा सकिन्छ । यो विन्टर सेडयुलमा सिद्ध्याउने हाम्रो टार्गेट छ ।
यसलाई १० को ठाउँमा ८ घण्टा लिएर आयो भने के हुन्छ भने ७ महिनाभन्दा बढी जान्छ । यसले अर्को समर सेड्युललाई पनि असर गर्यो ।
अहिले नोभेम्बरको १५ दिन हामीलाई अलि बढी असर गर्छ नै । किनभने नोभेम्बरको २०-२५ सम्म हामी हाम्रो सिजन हो ।
त्यसपछि डिसेम्बर, जनवरी, फेब्रुअरी काठमाडौँ र तराईका अन्य विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने होइन ।
मनसुनमा हामी यो काम गर्न सक्दैनौ । यस कारण यो नै उपयुक्त समय हो भनेर हामीले १० घण्टा बन्द गरेर यो काम गर्न लागेको हो ।
यो काम किन गर्न लागेको हो भने यसले रनवेको क्षमता बढाउँछ ।
हामीले यो ५ महिनामा हाम्रो अनुमानित आयको २ अर्ब नेपाली रुपियाँ गुमाउँदैछौं । यो कुनै रणनीति पनि होइन, यो कुनै राजनीति पनि होइन ।
यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ ।
यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले योभन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ ।
त्यसैले हामीले भैरहवा पठाउनका लागि काठमाडौँ बन्द गर्यो भन्ने विषय यो त्यति म्याचिङ विषय होइन ।
यो विषय त हामीले ७(८ महिनादेखि एयरलाइन्सहरुसँग छलफल गरेर हामीले नो डाउन गरेर नै ६ महिना हुन लागिसक्यो । यो हाम्रो अगाडिकै योजना हो ।
‘‘भैरहवाको विषय त सरकारले निर्णय गरेको धेरै भएको छैन नि । त्यस कारण भैरहवा, पोखरामा प्याकेज दिएर अन्तर्राष्ट्रिय वायु यानलाई आकर्षित गर्ने एउटा प्याकेज हो ।
टिआइएमा चाँडै काम सिद्ध्याएर अर्को समर सेड्युलमा काठमाडौं विमानस्थलमा भइरहेको फ्लाइट नघट्ने गरी अर्को समय सेड्युलसम्म तयार गर्ने यो अर्को प्याकेज हो ।
यो छुट्टाछुट्टै प्याकेज हो । यसलाई हामीले यसरी बुझिदिनुपर्छ जस्तो लाग्छ मलाई ।’’
प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।
महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए ।
उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।
महानिर्देशक अधिकारीले भने , ‘‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ ।
तर, डोमेस्टिक एयरलाइन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ । उहाँहरू एकदमै सकारात्मक हुन्छ ।
यो बनिसकेपछि एयरपोर्टको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षदेखि पाइलटले खोजेको कुरा हो नि ।
यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । ३ वटा अन्तर्राष्ट्रिय वायुयानले उडान भर्ने प्रतिबद्धता आएको छ ।
भैरहवाबाट ३ वटा वायुयानले आफ्नो उडान निकट भविष्यमा नै शुरु गर्नेछन् ।’’