इलाम, मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ संख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् ।
झापाबाट आएका सवारी साधनहरू माईखोलापारी र इलामबाट गएका सवारी साधनहरू पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।
‘यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पुर्याउने काम भइरहेको छ’, प्रहरी प्रमुख ढकालले भने, ‘यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’
पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिक मार्ग प्रयोगको तयारी पनि भइरहेको उनको भनाइ छ ।
शनिबार बिहानदेखि इलाम नगरपालिका-१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका-८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उनले बताए ।
सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनीषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताइन् ।
इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताए ।
पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो ।
मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो ।