दलाल पुँजीपति र बिचौलियाको राइँदाइँविरुद्ध जिहाद छेडेकै हौँ : अध्यक्ष दाहाल

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारको नेतृत्वमा हुँदा भ्रष्टाचारी र भूमाफियाको विरुद्धमा जेहाद छेडेको दाबी गरेका छन्।

बिहीबार अनेरास्ववियू (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ललितानिवासदेखि बाँसबारीसम्मको जग्गा प्रकरणमा लडाइँ लडेको दाबी गरे।

‘भूमाफियाहरूले जनता र व्यक्तिको जग्गा व्यक्तिको नाममा पार्ने षड्यन्त्रविरुद्ध लागेकै हो। भूमाफियाकाविरुद्ध हामीले अभियान छेडेकै हो,’ अध्यक्ष दाहालले भने, ‘चोह ललितानिवास होस वा बाँसबारी होस्, चाहे देशभरीका जग्गा होस्। त्यसका विरुद्धमा हामी लडाइँ छेडेकै हो।’

उनले सामाजिक न्यायमा पनि आफू नेतृत्व सरकारले ऐन बनाएर लडाइँ लडेको दावी गरे।

‘सामाजिक न्यायमा मिटरब्याज पीडितविरुद्ध ऐन बनाएर हामीले लडाइँ छेडेकै हो। नागरिकताको समस्याबाट बञ्चिल लाखौँ नेपाली युवाहरूलाई नागरिकता प्रदान गर्ने ढोका हामीले खोलेकै हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने।

साथै, उनले केही दलाल पुँजीपति र केही विचौलियाले देशको राजनीति र अर्थतन्त्रमा राइँदाइँ गरिरहेको बताए।

‘दलाल पुँजीपति र केही विचौलियाहरूले जसरी देशको राजनीति र अर्थतन्त्रमा राइँदाइँ गरेका थिए, त्यसको विरुद्धमा हामीले जिहाद छेडेकै हो।

यो लडाइँकै कारण दलाल, नोकरशाह र विचौलियाहरूले तथाकथित संख्याको बलमा सरकारबाट बाहिर जान बाध्य पारेकै हुन्,’ अध्यक्ष दाहालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *