सौर्य एयरलाइन्स दुर्घटना प्रकरढामा आयोगलाई आर्थिक प्रलोभनमा पारिएको पीडितको दाबी, न्याय नपाए अदालत गुहार्ने

काठमाण्डू, गत साउन ९ गतेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा तीन पारिवारिक सदस्य गुमाएका प्रकाश खतिवडाले दुर्घटना छानबिन आयोगको प्रतिवेदन पीडितको पक्षमा नरहेको बताएका छन् ।

बुधबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एयरलाइन्सको व्यवस्थापन पक्षले आयोगलाई आर्थिक प्रलोभनमा पारेर आफूअनुकूल प्रतिवेदन बनाएको आरोप लगाएका छन् ।

“व्यवस्थापन पक्ष दुर्घटना अनुसन्धान आयोगलाई आर्थिक प्रलोभनमा पारेर आफूअनुकूलको प्रतिवेदन तयार पार्ने भूमिकामा लागेको तथ्यहरूले पुष्टि गरेको छ,” खतिवडाले भनेका छन्, “आयोग निर्माण गर्दा एयर ट्राफिक कन्ट्रोलरको रूपमा १५ वर्ष अनुभव प्राप्त गरेको र दुर्घटनासम्बन्धी तालिम प्राप्त र सेवा प्रदायकसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति मात्रै आयोगमा रहन सक्ने गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ मा उल्लेख छ ।

तर, योग्यता नै नपुगेका पाइलटका नाता पर्ने मुकेश डङ्गोललाई आयोगको सदस्य सचिवमा र १५ वर्षे तालिम र अनुभव नभएका सुदीप भट्टराईलाई आयोग सदस्य बनाइएको छ ।”

पत्रकार सम्मेलनमा बाँडिएको १२ बुँदे प्रेसनोटमा ‘चौतिस दिनदेखि ग्राउण्डेड २१ वर्ष पुरानो जहाज मर्मत नै नगरी कसरी उडान भर्न योग्य भयो रु’ भनेर प्रश्न सोधिएको छ ।

उनले थप प्रश्न गरेका छन्, “सौर्य एयरलाइन्स व्यवस्थापन पक्ष दुर्घटनामा मात्र दोषी छैन् ।

अवैध उडानका अवैध यात्रुको कारण विमानको बीमाबापत्‌को करोडौं रकम प्रभावित हुने भएपछि ऊर्जा मन्त्रालयमा १२ वर्षदेखि कार्यरत मेरी छोरीको किर्ते हस्ताक्षर गरी किर्ते कागज तयार गरी सौर्य एयरलाइन्सको कर्मचारी बनाई मरणोप्रान्त कलङ्कित गरिएको छ ।”

अगाडि उनले भने, “डुब्नै लागेको जहाज कम्पनीको व्यवस्थापन पक्ष दुर्घटनाको मौका छोपी लासको व्यापार गर्न खोज्दैछ ।

यस्तो गम्भीर अपराध हामीलाई किमार्थ स्वीकार्य छैन । अपराधीलाई कारबाही हुनुपर्छ । यस विषयमा सम्बन्धित निकाय कारबाही गर्न तत्पर नदेखिए न्यायका लागि अदालत गुहार्ने जानकारी गराउन चाहान्छु ।”

यसअघि सार्वजनिक प्रतिवदेनले जहाजको तौलको सन्तुलन नमिल्दा जहाज दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

खतिवडाले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका थिए । दुर्घटनामा जम्मा १८ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *