काठमाण्डू, नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।
शनिबारै दिउँसो स्थानीय समय अनुसार ३स्१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो ।
यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
शनिबार दिउँसो संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
यसैबीच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ ।
क्यानडामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबारै न्यूयोर्क पुगेर भ्रमण दलमा सामेल भएको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए ।
प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क पुगेका थिए ।
होटल ग्रान्ड ह्यायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गरेका छन् ।