काठमाण्डू प्लाजामा रहेको महानगरपालिका कार्यालयनजिकै सडक भासियो

काठमाण्डू, काठमाण्डू महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो ।

यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।

यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।

यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो ।

महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ ।

ती कर्मचारीका अनुसार सडकमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा मर्मत गर्न नमिल्ने देखिन्छ । ‘सडकबाट हेर्दा टुकुचा खोला देखिन्छ ।

अब तलैबाट बेस उठाएर सडक बनाउनुपर्ने देखिन्छ’, महानगरका एक कर्मचारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *