
काठमाडौँ । काठमाडौंको विजयचोकमा रहेको एक किराना पसलबाट स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशाला बाट खटिएको टोलीले ८८काठमाडौं महानगरपालिकाश्र–९ स्थित ‘शिवानि स्टोर’ मा छापा मारेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्।
प्रहरीले दुवै जनाको शरीर तथा पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बरामद रकममध्ये एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।
नगदका अतिरिक्त उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ। साथै, अवैध कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराई का अनुसार पक्राउ परेकामाथि लागुऔषध कारोबार तथा अवैध रकम सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनासम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।
