
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा निकायहरूले मोबाइल गस्ती, रिजर्भ सेक्टर विभाजनदेखि सामाजिक सञ्जाल निगरानीसम्मका बहुआयामिक योजना कार्यान्वयनमा ल्याएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापा का अनुसार सुर्खेतका दुई निर्वाचन क्षेत्रमा १४० मतदान केन्द्र तथा मतदान स्थल कायम छन्। ती सबै स्थानमा नेपाल प्रहरी र निर्वाचन प्रहरीका टिम कमाण्डरहरू खटिइसकेका छन्। उनका अनुसार जिल्लाभर ९३५ भन्दा बढी नेपाल प्रहरी र १ हजार ६२८ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ। यसबाहेक नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल समेत तयारी अवस्थामा छन्। “प्रत्येक पालिकामा सिनियर प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी निरीक्षक कमाण्डमा दुई वटा मोबाइल गाडी परिचालन गरिएको छ,” डीएसपी बुढ्थापाले भने, “रिजर्भ सेक्टर छुट्याएर सूचना संकलन र निगरानीको काम तीव्र बनाइएको छ।”
निर्वाचनको निष्पक्षता र भयरहित वातावरण सुनिश्चित गर्न साइबर सुरक्षालाई समेत प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, उत्तेजक अभिव्यक्ति वा निर्वाचनविरोधी गतिविधिको निगरानीका लागि जिल्ला प्रहरी कार्यालयमा ‘निर्वाचन सेल’ गठन गरिएको छ। उक्त सेलमा विभिन्न उजुरी प्राप्त भइसकेको र तीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ। “नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लगायतका केही समूहसँग आबद्ध ८ जनालाई नियन्त्रणमा लिएर शान्ति सुरक्षासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ,” डीएसपी बुढ्थापाले बताए। चारवटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल, तेस्रो घेरामा नेपाली सेना र समग्र सूचना संकलन तथा विश्लेषणको जिम्मा राष्ट्रिय अनुसन्धान विभाग लाई दिइएको छ। प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर क्षेत्रमा विशेष संवेदनशीलताका साथ सुरक्षा योजना तयार पारिएको प्रहरीले जनाएको छ। सुरक्षा निकायहरूले मतदातालाई निडर भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
